२ दिनदेखि अवरुद्ध बनेको त्रिभुवन राजपथ आइतबार विहानैबाट सुचारु

तु खबर संवाददाता
२०७८ माघ २३, आईतवार ०८:२९

मकवानपुर । हिमपातका कारण अवरुद्ध बनेको त्रिभुवन राजपथ आइतबार विहानैबाट संचालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ र अघोर क्षेत्रमा भारी हिमपात भएपनि शुक्रबार विहानैबाट राजमार्ग अवरुद्ध बनेको थियो । सडकमा डेढ फिटसम्म जम्नेगरी हिउँ परेपछि सवारी दुर्घटनाको जोखिम बढेको भन्दै यातायात संचालनमा रोक लगाइएको थियो ।

शुक्रबार र शनिवार थाहा नगरपालिकाले सडकमा जमेको हिउँ हटाएपछि यातायात संचालनमा सहजता भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सो क्षेत्रमा अहिले मौसममा समेत केही सुधार भएकोले प्रहरीको भनाई छ । सडक सुचारु भएसँगै काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी साधन संचालनमा आएका छन् ।