प्युठान दुर्घटना अपडेट : मृतक मध्ये ५ जनाको पहिचान खुल्यो

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार १०:०६

प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा मृत्यु भएकामध्ये ५ जनाको पहिचान खुलेको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा मृत्यु भएकामध्ये ५ जनाको पहिचान खुलेको हो ।

उक्त दुर्घटना परेर ८ जनाको मृत्यु भएकोमा ५ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए । पहिचान खुल्नेहरुमा ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री र ५० वर्षीय नन्दि खड्का रहेका छन् । अन्य ३ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्युठान प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।