सेताम्मे सिम्भञ्ज्याङ
मकवानपुर । दामन र सिम्भञ्ज्याङ मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको छ । शहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने इच्छा हुनेहरुका लागि दामन/सिम्भञ्ज्याङ उपयुक्त गन्तव्य हुनसक्छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५० किलोमिटर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दुरी पार गरेपछि सिम्भञ्ज्याङ पुग्न सकिन्छ । सो क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै सबैभन्दा अग्लो क्षेत्र हो ।

थाहा नगरपालिकाले दामनमा हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्नको लागि भ्यूटावर निर्माण गरेको छ । बारा, पर्सा, चितवन, रौतहटलगायत तराई क्षेत्रका मानिसहरु फरक हावापानीको अनुभव लिन दामन उक्लने गरेका छन् । पुस माघमा हिउँ परेपछि दामन, सिम्भञ्ज्याङ सेताम्य हुन्छ । हिमपातले यस क्षेत्रको सुन्दरतामा थप निखार ल्याउने गरेको छ । हिमपात भएपछि स्थानीय किसानहरु बालीनाली सप्रिने भएकाले खुशी हुने गरेका छन् ।
साइकलयात्रीको लागि पनि यो क्षेत्र उत्कृष्ठ गन्तव्य हुनसक्छ । थानकोटबाट चन्द्रागिरी हुँदै चित्लाङ, कुलेखानी, मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ । दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् । यसैगरी सिम्भञ्ज्याङबाट ठूलो मार्खु हुँदै इन्द्रसरोवर जलाशय निस्कने पदमार्ग पनि प्रचलित छ ।

टिस्टुङ, पालुङ क्षेत्रमा होमस्टेको पनि सुविधा छ । ग्रामीण जीवनशैलीमा रमाउन चाहानेहरुका लागि यसको छुट्टै मज्जा छ । टायल र ढुंगा कुँदेर बनाइएका पुराना घरहरुका साथै खर र छ्वालीले टाएका परम्परागत बस्ती ग्रामीण एवम् पर्यापर्यटनको आकर्षण हो । दामन क्षेत्रमा बौद्ध र हिन्दु धर्मावलम्बीको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिर अवस्थित छ । मन्दिरमा फागु पूर्णिमा र ठूलो एकादशीमा हजारौँको संख्यामा श्रदालु भक्तजनहरुको उपस्थितिमा मेला लाग्ने गरेको छ ।

त्यस्तै सिम्भञ्याङमा नेपालकै पहिलो मानवअधिकार स्तम्भ पनि छ । त्यहाँ मानव अधिकारको अन्तरराष्ट्रिय विश्वव्यापी घोषणापत्रमा उल्लेख भएको ३१ धाराको पूर्ण पाठ स्तम्भमा उल्लेख छ । सो स्तम्भ अहिले जीर्ण अवस्थामा छ । तत्कालीन सांसद् हिरण्यलाल श्रेष्ठको पहलमा उक्त स्तम्भ निर्माण गरिएको हो । दामन क्षेत्रमा विभिन्न प्रजातिको बोट विरुवाको संरक्षण एवम् अध्ययनका लागि सिलोष्ण बागवानी केन्द्रमा पनि सेताम्मे हिमपात भएको छ ।






तस्वीर सौजन्य : विवस बस्नेत, दामन नेपाल ।
