जिल्ला अदालतद्वारा तेस्रो लिङ्गीको हत्यामा संलग्न तीन जनालाई जन्म कैद फैसला

तु खबर संवाददाता
२०७८ माघ २१, शुक्रबार ०८:०५
२० माघमा जिल्ला प्रहरी कार्यालयले अजिता हत्यामा संलग्न भएको अरोपमा एलिशासहित अन्य ४ जनालाई सार्वजनिक गर्दै । तस्बिरः जिल्ला प्रहरी कार्यालय, मकवानपुर

मकवानपुर । जिल्ला अदालत मकवानपुरले तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न रहेका तीन जनालाई जीवित रहेसम्म कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी भुजेलको हत्यामा संलग्न ३ जनालाई जीवित रहेसम्म कैद फैसला गरेको हो । हत्यामा संलग्न अन्यमध्ये एक जना नावालकलाई १६ वर्ष कैद, एकजनालाई ४ वर्ष कैद र एक महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाइएको हो ।

आरोपित चारजनाबाट हत्या भएकी तेस्रो लिङ्गीकाको परिवारलाई क्षतिपूर्ति भराउनेसमेत फैसला भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । हत्यामा संलग्न रहेका शुसील थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवाना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपुर्ति भराउने फैसला भएको हो ।

हत्यामा संलग्न रहेका एक जना नाबालाकलाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति, अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्यातर्फ ४ वर्ष कैद, डाकातर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको मोवाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहात कोषबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको हो ।