माघ २५ देखि बागमती प्रदेशभर पिपिआर विरुद्ध खोप अभियान संचालन हुने
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएको छ । माघ २५ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाका प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिएका छन् ।
उनका अनुसार माघ २५ गतेबाट बागमती प्रदेशको १३ वटै जिल्लामा खोप अभियान संचालन हुँदैछ । सम्बन्धित जिल्लाको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र वा स्थानीय तहमा कार्यरत भेटेनरी डाक्टरहरुले खोप सेवा प्रदान गर्ने उनले बताए । प्रदेशभरका कृषकहरुले स्थानीय तहको पशु सेवा शाखा, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडा वा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्पर्क गरेर जिज्ञासा खोप सम्बन्धी थप जानकारी लिन सक्नेसमेत निर्देशनालयले जनाएको छ ।
के हो पिपिआर रोग ?
पिपिआर भेडाबाख्रामा लाग्ने अति घातक संक्रामक रोग हो । यो रोग Paramyxoviridae Morbillivirus बाट लाग्दछ । यसलाई भेडा बाख्राको हैजा (Sheep and Goat Plague) पनि भनिन्छ । यो रोग नेपालका सबै जिल्लामा देखा परिसकेको छ । यो रोग पुरानो ठाउँमा देखा पर्दा मृत्युदर कम भएपनि नयाँ ठाउँमा फैलिँदा ८० प्रतिशत मृत्युदरको सम्भावना हुन्छ । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति भनेकै खोप भएकोले खोप लगाउने कार्यलाई व्यापक रुपमा संचालन गर्नुपर्ने निर्देशनालयका प्रमुख प्रधान बताउँछन् । खोप कार्यलाई प्रभावकारी तवरले सञ्चालन गरिने बताउँदै उनले खोप अभियानमा सहभागि हुन प्रदेशभरका कृषहरुलाई आग्रह गरे ।
रोगका लक्षणहरु के के हुन् ?
पिपिआर रोग लागेको पशुलाई ज्वरो ४० देखि ४१ डिग्रि सेल्सियस १०४ डिग्रीदेखि १०६ डिग्री फरेनहाइट आउने गर्दछ । जनावर लोसे वा शान्त हुने गर्दछ । पशुको नाकबाट पानी बग्ने कालान्तरमा बाक्लो गन्हाउने सिंगान बगाउने, सिंगानको पाप्रा बनि नाकको प्वाल बन्द हुने स्वास फेर्न गाह्रो हुने, आँखामा रातो कचेरा निस्कने, निरन्तर आशु बग्ने, गिजामा कनिका छरेजस्तो स–साना दाना देखिने, हाडछाला हुने गरी दुब्लाउने, स्वास फेर्न गाह्रो हुने, शरीरको तापक्रम घटेर जाने, रगतमासी छेर्ने र रोग लागेको ५ देखि १० दिनमा पशुको मृत्यु हुने गर्दछ ।
रोगको रोकथाम तथा नियन्त्रण
रोग नियन्त्रणको सबैभन्दा उत्तम उपाय समयमै पिपिआरविरुद्ध खोप लगाउनु हो । यस रोगविरुद्ध हरेक ३/३ वर्षमा खोप लगाउनु पर्दछ । खोप लगाउँदा ३ महिना उमेर माथिका सबै पशुलाई लगाउनु पर्दछ । यस रोगका विरुद्ध पहिलो पटक ३ महिनाको उमेर पुरा भएपछि लगाउने र तत्पश्चात खोप लगाउँदा हरेक ३/३ बर्षको फरकमा फागुनदेखि चैत्र महिनामा लगाउनु पर्दछ । खोप लगाउँदा सानो वा ठुलो भेडा बाख्रालाई १ एमएल मासु वा छालामुनी लगाउनु पर्दछ । अन्यत्रबाट ल्याएका भेडाबाख्राहरुलाई खोप लगाएर २१ दिन छुट्टै राख्नु पर्दछ । फर्ममा जैविक सुरक्षा कडाइका साथ अवलम्वन गर्नु पर्दछ ।
