लामिछानेद्वारा कांग्रेस मकवानपुरको सभापति पदमा उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा कांग्रेस नेता जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । आज आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्दै लामिछानेले हेटौंडा २ कांग्रेस चोक नजिकै सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन् । उनले मकवानपुरमा कांग्रेसप्रति जनविश्वास बढिरहेको पार्टीलाई मकवानपुरमा पहिलो नम्वरको बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले केही दिनमा आफ्नो चुनावी प्यानल नै सार्वजनिक गर्ने तयारी भइरहेको बताए । उक्त कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने तथा जिल्ला सचिव आनन्द कठायत, नेतृ रिता खनाल, इन्दिरा न्यौपानेलगायतको उपस्थिति रहेको थियो । यसअघि कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र जिल्ला सचिव बुद्ध लामा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरको १०२ वटै वडा, १० स्थानीय तह, र क्षेत्रगत अधिवेशन सम्पन्न भइसकेको छ । मकवानपुरको निर्वाचनको मिति भने २ पटक घोषणा भएर स्थगित भएको छ । अब जिल्ला अधिवेशन कहिले गर्ने भन्ने बारे एकिन भइसकेको अवस्थामा लामिछानेले उम्मेदवारी घोषणा गरेका हुन् ।
