प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइँदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमार्फत यस पर्वले सबैका लागि सुख, शान्ति र समृद्घि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले देश तथा विदेशशी मुलुकहरुमा छरिएर रहेका तामाङ समुदायले हर्षोलाशपूर्ण वातावरणमा मनाउँने २८५८ औं ताक ल्हो (सोनाम ल्होछार) पर्वका अवसरमा शुभकामना दिएका हुन् । प्रमुख शर्माले जारी गरेको सन्देशमा भनेका छन्, ‘तामाङ समुदायले चलाई आएको पञ्चाङ्ग अनुसार आजबाट एउटा वर्ष पूरा भई अर्को वर्ष सुरु भएको छ । यो नववर्ष ‘सोनाम ल्होछार’ ले हामी सबैका लागि सुख, शान्ति र समृद्घि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’
प्रमुख शर्माले हामी संयौ थुङ्गा फूलका रंगीन बगैंचाका फूलहरु भएको उल्लेख गर्दै हामी बहु जातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक समाजका अभिन्न अङ्ग भएको बताए । उनले अन्य समुदाय सरह तामाङ समुदाय पनि उत्तिकै महत्वपूर्ण अङ्ग भएको बताए । प्रमुख शर्माले यो पर्वले हाम्रो धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बद्र्धन गर्न महत्वपूर्ण योगदान गर्नेछ भन्ने आफूलाई दृढ विश्वास रहेको शुभकामना सन्देशमा भनेका छन् ।
हाम्रो समाजको मूल चरित्र भन्नु नै विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् बन्धुत्व र पारस्परिक मेलमिलाप हो भन्नुहुँदै प्रमुख शर्माले हाम्रा यी र यस्तै राष्ट्रिय धरोहरप्रति हामीले गौरवबोध गर्न सक्नुपर्नेमा जोड दिए । उनले भनेका छन्, ‘यो पर्वले हामीलाई यसकै लागि प्रेरित गर्नेछ । हाम्रो समाजमा मनाइने चाडपर्वहरु तथा अनुपालना गरिने संस्कृतिहरुले हामीलाई सामाजिक हित, आपसी सम्मान र भाइचाराको प्रबलीकरण गर्न प्रेरित गर्न सकोस् भन्ने पुन : एकपटक शुभकामना व्यक्त गर्दछु ।’
