दूधको मुल्य वृद्धि गर्ने सरकारको निर्णय

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १७:५२
File Photo

मकवानपुर । सरकारले दूधको मुल्य वृद्धि गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य साढे ६ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । सरकारले यसअघि प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेको कच्चा दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा वृद्धि गर्ने निर्णय गरेको हो ।

किसानले पाउने मूल्य वृद्धि गरिएपछि अब कच्चा दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा कायम भएको छ । सरकारले तोकेको मूल्य किसानको लागि हो, उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दूग्ध विकास संस्थानले तय गर्नेछ । किसानले दूध उत्पादनमा लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आए पनि सरकारले साढे २ वर्षपछि हिजो मूल्य बढाएको हो ।

दूधको लागत मूल्यसमेत नउठेको भन्दै केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडले मूल्य वृद्धिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गरेपछि अध्ययनका लागि समिति गठन गरेको थियो । समितिले दिएको प्रतिवेदनका आधारमा मूल्य बढाउने प्रस्ताव कृषि मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । सरकारले सोही प्रस्ताव अनुसार, दुधको मुल्य वृद्धि गर्ने निर्णय गरेको हो ।