कन्टेनर पल्टिएर दुर्घटना हुँदा चालक गम्भीर घाइते

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १६:०७

चितवन । चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडकखण्डमा कन्टेनर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सोमबार दिउँसो भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्वरको कन्टेनर भरतपुर महानगरपालिका–१२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका हुन् ।

दुर्घटनामा परेर घाइते हुनेमा ट्रक चालक रहेका छन् । उनको हाल नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, कन्टेनरले ठक्कर दिँदा दुई वटा विद्युतका खम्बाहरु पनि ढलेका छन् । विद्युतको खम्बा ढलेपछि विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।