मकवानपुरमा कोरोना संक्रमितको संख्या घट्दो
मकवानपुर । मकवानपुरमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या घट्दो छ । जिल्लामा विगत ४ दिनदेखि कोरोना संक्रमितको संख्या घटेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा आइतबार ५३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या बिहिबार र शुक्रबारको तुलनामा कम हो ।
स्वास्थ्य कार्यालयका प्रमुख भीमसागर गुरागाईंका अनुसार, जिल्लामा बिहिबार ९१ जना र शुक्रबार ८१ मा संक्रमण पुष्टि भएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले परीक्षण भएन । जिल्लामा गत माघ १० सम्म सक्रिय सक्रमितको संख्या १ हजार ७ सय २७ पुगेकोमा आइतबार ६ सय ९३ मा झरेको छ ।
‘एक सातामै हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् भने थपिने संख्या पनि घट्दै गएको छ,’ उनले भने, ‘अहिले हेटौंडा अस्पतालमा १२ जना उपचाररत छन् । ६ सय ८१ जना घरमै छन् ।’ आइतबार थप १ सय ९६ जना संक्रमणमुक्त भएका छन् । ४ दिनयता कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन ।
