सहिद दिवसमा बाल क्लवको विशेष कार्यक्रम

तु खबर संवाददाता
२०७८ माघ १६, आईतवार १७:०७

मकवानपुर । नवोदय साहित्यिक बगैँचा बाल क्लवले आइतबार सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको संयोजक तथा क्लवको अध्यक्ष अनुशा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहिद दिवसको अवसरमा आयोजित बहस कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले राणाकालमा साहादत प्राप्त गर्ने सहिदहरुले योगदान गर्नुभएकाले गर्दा नै देशमा स्वतन्त्रता आएको बताए । यसैगरी नेकपा माओवादीका नेता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष ललित घलानले राष्ट्रका लागि निस्वार्थ रुपमा सहिदहरुले योगदान पु¥याउनु भएकाले गर्दा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

‘देशलाई अगाडितर्फ लैजानको निम्ति सहिदको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।’ उनले भने –‘पार्टीले र राज्यले नै सहिदलाई विशेष ध्यानदिनुपर्ने बेला आएको छ । रोजगार, शिक्षालगायत अन्य क्षेत्रमा सहिदका परिवारलाई विशेष स्थान राज्यले दिनुपर्दछ ।’

जनता समाजवादी पार्टी मकवानपुरका अध्यक्ष राजेन्द्र सिंखडाले सहिदलाई माल्यार्पण गर्दामा सहिदको सपना पूरा नहुनेमा जोड दिए । सहिदलाई लिएर राजनीतिक दलले पार्टी विशेषको रुपमा भागवन्डा गर्ने गरेकोमा उनले गुनासो पोखे । सहिदहरुले पुर्याएको योगदानलाई आधारित ४ मिनेटको वृत्तचित्रसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बालज्योति माध्यमिक विद्यालयका रियाज कार्की, जिएस निकेतन विद्यालयका आयुषजन विष्ट, ब्रम्हदिक एकेडेमीकी जेनिशा अधिकारी, अमर माविकी सुस्मिता ढुङ्गाना, जेनिथ इन्टरनेशनल बोर्डिङका सुभम खनाल, नवोदय विद्यालयका सत्कार स्याङतान, सेरोन गिरी र प्रीतिका कार्कीले रचना वाचन गरेका थिए ।