मकवानपुर सहकारी अस्पतालद्वारा अग्रज नर्सलाई सम्मान
मकवानपुर । मकवानपुर सहकारी अस्पतालले अग्रज नर्सलाई सम्मान गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित उक्त अस्पतालले ६० औं नर्सिङ दिवसको अवसरमा अग्रज नर्सलाई सम्मान गरेको हो ।
अस्पतालले आज बिहान एक कार्यक्रमबीच मकवानपुरका अग्रज नर्सहरु क्रमशः बुनु शर्मा, चम्पा कोजु र धन राईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । कार्यक्रम अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको प्रमुख आतिथ्यमा भएको हो ।
साथै स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भिमसागर गुरागाईंलाई स्वागत एवम् सम्मान गरिएको थियो । कार्यक्रममा सहकारी अस्पतालमा लामो समयदेखि कार्यरत शान्ति लामा र पुस महिनाको उत्कृष्ट कर्मचारी सोनु पौडेललाई पनि सम्मान गरिएको थियो ।
