बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, स्थानीय निर्वाचनबारे छलफल

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार ०९:४८

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।

यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो देखाएकी छिन् । उनले प्रधानमन्त्रीसँग छलफल समेत गरिसकेकी छिन् । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी कार्तिकदेखि मिति तोक्न पटक पटक ताकेता गर्दा पनि सत्ता गठबन्धन तयार नहुँदा मिति घोषणा हुन नसकेको हो ।