प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हु्नेछ । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत् जानकारी दिने सचिवालयले जनाएको छ ।
गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो । यो अवधिमा देउवा नेतृत्वको सरकारले गरेका कामकारबाही र प्रगति विवरण आज सार्वजनिक गरिनेसमेत बुझिएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढिरहेको छ । त्यसको न्यूनिकरणमा सरकारको सक्रियता सन्तोषजनक छैन । यस्तो अवस्थामा उनको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।
