सर्जिकल मास्क १० रुपैयाँमा बेच्नेलाई ५ हजार धरौटी

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार १६:३३

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी गर्ने ३ जनालाई धरौटीमा रिहा गरेको छ । एक रुपैयाँ हाराहारी खरिद मूल्यपर्ने सर्जिकल मास्कको १० रुपैयाँ असुल गर्दै उपभोक्ता ठग्ने ३ वटा फार्मेसीका संचालकलाई आज (बिहिबार) पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनले मास्कको कालोबजारी गर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित अन्सारी फार्मेसीका संचालक साजित अन्सारी, सक्षम औषधि पसलका संचालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसी संचालक ३२ बर्षीया सजिता पोखरेललाई धरौटीमा रिहा गरेको हो । उनीहरुविरुद्ध कालोबजारी ऐन अन्तरगत मुद्धा चलाइएको थियो ।

प्रशासनले थप अनुगमन गरी मास्कको कालोबजारीविरुद्ध अभियान चलाउने जनाएको छ । कोरोना महामारीको समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी हुन नदिन प्रशासन कार्यालयले अभियान तीव्र पारेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तु खबरलाई बताए । होलसेलमा एक रुपैयाँ हाराकारी पर्ने मास्कको १० रुपैयाँ लिन नपाइने उनको भनाई छ ।

प्रशासनको आदेशपछि बढि मूल्य लिने व्यापारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । औषधी पसल, किराना पसललगायत व्यापारीहरुले मास्कको १० रुपैयाँ असुल गरिरहेको गुनासो प्रशासन कार्यालयमा पुगेको छ । सबै पसलधनीहरुलाई सामान्य मास्कको अधिकतम् पाँच रुपैयाँमा बिक्री गर्न आह्वान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । प्रशासनले अत्यावश्यक मास्कको कालोबजारी नगर्न आह्वान गर्दै त्यसो गरिएको पाइएमा कडा कारवाही गर्ने भन्दै सबैलाई सचेतसमेत गराएको छ ।