पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार १५:०३

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेर विरोध जनाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

अहिले भने स्थिति सामान्य छ । पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।