दुर्घटनामा परेर एक भारतीय नागरिकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १२:४१

दमक । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतीय नम्वर प्लेट बिआर३७ सी ९००८ र बिआर ३७ इ १९९४ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो मृत्यु हुनेमा भारतीय नागरिक सञ्जीव सिंह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति भएको दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । यस्तै, दुर्घटनामा परेर कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भद्रपुर–३ ज्ञानेचोकमा मे ३ प १५३४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा कचनकवल–६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।