मकवानपुरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै

तु खबर संवाददाता
२०७८ माघ ४, मंगलवार ११:४८

मकवानपुर । कोरोना भाइसरविरुद्धको खोप अभियान अन्तरगत मकवानपुरमा बुस्टर डोज लगाउन सुरु गरिएको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मीलगायतलाई बुस्टर डोज लगाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

कोरोनाविरुद्ध पूरा मात्रामा खोप लगाएको ६ महिना अवधि भइसकेकाहरुले मात्रै बुस्टर डोज लगाउन पाउने भएका छन् । कोभिसिल्ड वा भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना अवधि पुरा भइसकेको अवस्थामा मात्रै खोप लगाउने पाइने जनाइएको छ । अन्य विभिन्न खोप लगाएको अवधि ६ महिना नकटेकोले अन्य खोप लगाएकाहरुलाई पछि मात्रै बुस्टर डोज लगाइने जनाइएको छ ।

हेटौंडा १ गोरक्षश्वर मन्दिरमा अहिले खोप लगाउने काम भइरहेको छ । माघ १४ गतेपछि भने ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई जिल्लाको स्वास्थ्य संस्थाहरुबाट बुस्टर डोज खोप लगाइनेसमेत स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म कुनै पनि खोप नलगाएकाहरुलाई पनि खोपको पहिलो मात्रा लगाउने कार्य भइरहेकोसमेत जनाइएको छ ।