तनहुँमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिएर दुर्घटना हुँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सो दुर्घटनामा परी अन्य ८ जना घाइते भएको जनाइएको छ । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप वडा नम्वर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट पल्टिएको हो ।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको हो । प्रहरीका अनुसार ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबै जना वडा नम्बर ६ निवासी हुन् ।
घाइते ८ जनालाई उपचारको लागि चितवनको भरतपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । जिप आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतिर गुडिरहेको थियो । हटिया गाउँ आइपुग्नुभन्दा ५० मिटरअघि मात्र उकालोमा जीप ब्याक भएर खसेको हो ।
