दुर्घटनामा चालकको मृत्यु
दमौली । तनहुँको ब्यास नगरपालिका–१ तालघरेमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग ३ च ३७७८ नम्बरको पिकअप भ्यान आज बिहान साढे ३ बजे अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक चालकको नाम ठेगाना भने खुलेको छैन । यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका ४ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मे १ प ५५९० नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे अनियन्त्रित भएर पल्टिंदा धुलाबारी घर भई हाल इटहरी बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको हो । विश्वकर्मालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
