राष्ट्रियसभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन उपेन्द्रको निर्देशन

तु खबर संवाददाता
२०७८ पुष २४, शनिबार १६:३०
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन पार्टी सम्बद्ध समितिहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष यादवले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पार्टी नेपालसहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन समितिहरुलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष यादवले प्रदेश र जिल्लास्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्नका लागि समेत समितिहरुलाई निर्देशन दिएका छन् । उता, विभिन्न प्रदेशहरुमा पार्टी–पार्टीबीच समन्वय गर्नका लागि गठबन्धनमा रहेका विभन्नि दलहरुको तर्फबाट जिम्मेवारी समेत तोकिएको छ । जिम्मेवारी तोकिएका नेताहरुसँग समन्वय गर्न पनि उनले समितिलाई निर्देशन दिएका छन् ।

जिम्मेवारी तोकिनेहरुमा प्रदेश १ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट घनेन्द्र वस्नेत, माओवादी केन्द्रबाट राम कार्की, जसपाबाट अशोक राइ, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, राजमोबाट हरिकान्त पौडेल रहेका छन् । त्यस्तै, प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट रामचन्द्र यादव, माओवादी केन्द्र गणेश शाह, जसपाबाट मृगेन्द्रकुमारसिंह यादव, काँग्रेसबाट रमेश रिजाल, राजमोबाट धर्मानन्द सुवेदीलाई जिममेवारी दिइएको छ ।

बागमती प्रदेशमा कांग्रेसबाट प्रकाश महत, नेकपा एकीकृत समाजवादी पार्टीबाट केदार न्यौपाने, माओवादी केन्द्रबाट हितमान शाक्य, जसपाबाट गंगानारायण श्रेष्ठ, राजमोबाट लालबहादुर थापा, गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीबाट केशवलाल श्रेष्ठ, माओवादी केन्द्रबाट हितराज पाण्डे, जसपाबाट हरिशरण आचार्य, राजमोबाट शंकर बराल, काँग्रेसबाट रामचन्द्र पौडेललाई गठनबन्धनले जिम्मेवारी दिएको छ ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट चक्रपाणि खनाल, नेकपा एकीकृत समाजवादी पार्टीबाट भागवत विश्वासी, जसपाबाट सहसराम यादव, राजमोबाट सुरेश थापा, कांग्रेसबाट बालकृष्ण खाँण, कर्णाली प्रदेशमा माओवादी केन्द्रको तर्फबाट शक्ति बस्नेत, कांग्रेसबाट जीवन शाही, नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रकाश ज्वाला, जसपाबाट भक्तबहादुर शाही, राजमोबाट जनकराज शर्मालाई गठबन्धनले जिम्मेवारी दिएको छ भने सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृतबाट विक्रम शाही, माओवादी केन्द्रबाट खगराज भट्ट, कांग्रेसबाट दिलेन्द्र बडु, राजमोबाट नन्दराज भट्ट, जसपाबाट मालामति चौधरीलाई जिम्मेवारी दिइएको छ ।