बाल पुनर्स्थापन केन्द्रलाई तरुण दल मकवानपुरको सहयोग

तु खबर संवाददाता
२०७८ पुष २३, शुक्रबार १६:२९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित मयुरधापमा रहेको अनाङ अपाङ्ग पुनर्स्थापन केन्द्रमा आश्रित बालबालिकाहरुको लागि नेपाल तरुण दल मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । केन्द्रमा आश्रित बालबालिकाको भरणपोषणमा समस्या भइरहेको जानकारी पाएपछि शुक्रबार एक कार्यक्रमकाबीच तरुण दलले चामल, दाल, तेल, नुन, आलु, प्याजलगायतका खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, उपाध्यक्ष निराजन बर्तौला, जिल्ला सदस्य एवम् कार्यक्रम संयोजक राजकुमार बास्तोलालगायतले केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई अन्दाजी २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् । खाद्यान्न हस्तान्तरणपछि बोल्दै तरुण दल मकवानपुरका अध्यक्ष पाठकलले केन्द्रलाई आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । केन्द्रलाई दीगो आम्दानी हुने स्रोतको व्यवस्थापनमा पनि आफूहरुले चासो दिने उनले बताए ।

आश्रममा हाल १३ जना अपाङ्ग तथा अभिभावकबिहीन बालबालिका आश्रित रहेको केन्द्रका अध्यक्ष कोइरालाले जानकारी दिए । कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सन्तोष सापकोटा, नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति मोहन नगरकोटी, नेपाली कांग्रेस हेटौंडा–१४ का सभापति मनोज थिङ, तरुण दल जिल्ला कार्यसमितिका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।