कैलाश गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन
मकवानपुर । मकवानपुरको बिकट कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । कैलाश गाउँपालिका वडा नम्वर ३ कालिकाटारस्थित २६ कोठे नवनिर्मित प्रशासकीय भवनको बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै प्रमुख खुलालले भवन अभावमा विभिन्न समस्या खेप्दै आएको गाउँपालिकाले अब सेवा प्रवाहलाई चुस्त बनाउनु पर्ने बताए । उनले जिल्ला समन्वय समितिले स्थानीय तहको उन्नति, प्रगति र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो उपलब्धीका रुपमा लिएको भन्दै कैलाश गाउँपालिकाले जिल्ला समन्वय समितिबाट प्राप्त बजेटको उचित उपयोग गरेकोमा धन्यवाद व्यक्त गरे । साथै उनले समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी, जग्गादातालगायत निर्माण प्रकृयामा सहयोग पु¥याउने सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।
भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट कुल २ करोड बजेट उपलब्ध गराईएको थियो । लागत अनुमान ३ करोड ९७ लाख १४ हजार ९९० रुपैयाँ ९८ पैसा भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ ११ पैसामा २०७७ साल असाढ ७ गते गाउँपालिकाले निर्माण कम्पनी रविनरअविसा जेभीसंग २०७८ पुष ७ गते सम्पन्न गर्ने गरि सम्झैता गरेको थियो । निर्माण कम्पनीले समयावधी भित्रै भवन निर्माण सम्पन्न गरेका हो ।
कार्यक्रममा गाउँपालिका भवन र १० शैयाको अस्पताल निर्माणका लागि जग्गा दिएकाहरुलाई सम्मान समेत गरिएको थियो । गाउँपालिका भवन र अस्पताल निर्माणका लागि स्थानीय रामलाल घलान, गोबिन्द पाठक, सुर्य बहादुर तितुङ, दुर्गा बहादुर स्याङ्तान, सन्चबहादुर स्याङ्तान, सुकुबहादुर स्याङ्तान, सिंगराम घलान र राम बहादुर स्याङ्तानले जग्गा प्रदान गरेका थिए । गाउँपलिकाकी कार्यबाहक अध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको सहभागिता थियो ।
