राष्ट्रियसभाको उम्मेदवार चयन गर्न एकीकृत समाजवादीले बोलायो बैठक

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार १५:४१
file-photo

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको छ । सत्ता गठबन्धनबीच बालुवाटारमा १९ सिट बाँडफाँडपछि सो पार्टीले आफ्नो भागमा परेका ५ सिटका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको हो । महासचिव डा. बेदुराम भुसालका अनुसार सचिवालय बैठक बसेर उम्मेदवारको नाम टुङ्ग्याउने तयारी छ ।

महासचिव भुसालले सोमबार बैठक बसेर नाम टुङ्ग्याउने जानकारी दिएपनि बैठक बस्ने समय र स्थान भने खुलाएनन् । सत्ता गठबन्धनबीच एकीकृत समाजवादीले २ नम्बर र गण्डकी प्रदेशबाहेकमा उम्मेदवारी दिनेछ । त्यस्तै, सो पार्टीबाट १ पुरुष र ४ महिला उम्मेदवार बनाउन लागेको बुझिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सोमबार बिहान बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ६, माओवादी र एकीकृत समाजवादीलाई ५/५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ । राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा निर्वाचन हुँदैछ ।