शैक्षिक क्षेत्र सुधार गर्न अन्तरक्रिया

तु खबर संवाददाता
२०७८ पुष १६, शुक्रबार ०९:११

मकवानपुर । शैक्षिक क्षेत्र सुधार गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक बागमती प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । सो क्रममा शैक्षिक क्षेत्रका सरोकारवालाहरुले हरेक अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा निगरानी बढाउनु पर्ने धारणा ब्यक्त गरेका छन् । पशुपतिनाथ माविमा बिहिबार आयोजित अन्तरक्रियाका सहभागीले बालबालिकाको निगरानीलाई ध्यान दिन नसकेको खण्डमा ठूलो दुर्घटना हुन सक्ने बताएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको अन्तरक्रियामा सहभागी बक्ताहरुले शिक्षक, विद्यार्थी, अभिभावकको भूमिकामा समन्वय नभए गुणस्तर बृद्धि नहुने बताएका छन् । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले सामुदायिक विद्यालयमा बालबालिकालाई दिवा खाजाको ब्यबस्थाले बालबालिका कक्षा कोठामा बस्ने समय बढेको बताइन् ।

शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले मात्र शैक्षिक गुणस्तर बृद्धि गर्न सकिने बताउँदै उपाध्यक्ष बिष्टले पशुपतिनाथ माविमा भौतिक पक्ष सबल बन्दै गएको र आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखिन् । मनहरी गाउँपालिकाका श्रोतशिक्षक पूर्णभद्र भुषालले पशुपतिनाथ माविको विद्यालय ब्यवस्थापन समितिको सक्रियताको प्रशंसा गर्दै विद्यालयमा बिभिन्न समितिहरु निर्माण गरी जिम्मेवारी बाँडफाट गर्न सुझाएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सहायक प्रधानाध्यापक सुशील गौतम, शिक्षकहरु मनोज चौलागाई, रामचन्द्र तिम्सिना, शर्मिला सिग्देल, ईश्वर रिजाल, सुसन बानियाँ, हरिशरण थापा, कला गौतम लगायतले सुधार गर्नुपर्ने पक्षमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ईन्सेक प्रतिनिधि बिमला गोपाली, विलयका अभिभावक मीरा खत्री, उद्धब बिष्ट, श्रीकृष्ण ढकाल, बिद्यार्थी सुष्मा सिंखडा, रितेष बिष्टले विद्यार्थी अनुशासन, लगनशीलता, मिहेनतमा कमी आएर समस्या भएको बताएका थिए ।