माओवादी : ‘हेटौंडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ?

तु खबर संवाददाता
२०७८ पुष १५, बिहीबार १६:३९
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले हेटौंडा महाधिवेशनले पारित गरेको उत्पादन ब्रिगेड कता हरायो ? भनेर नेतृत्वसमक्ष प्रश्न गरेका छन् । पार्टीको आठौं महाधिवेशन अन्तरगत जारी बन्दसत्रको बिहिबार गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पौडेलले निश्कर्ष पेश गर्दै उक्त प्रश्न उठाएका हुन् ।

सो क्रममा नेता पौडेलले ‘हेटौंडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ? समीक्षा गरौँ’ भनेर प्रश्न गरेका थिए । त्यस्तै, राजनीति सेवा हो कि व्यवसाय ? प्रस्ट पार्नुपर्ने, पार्टीमा परिवार केन्द्रीत र गुट केन्द्रित प्रवृति तोड्नुपर्ने, मन्त्री बनेपछि जागिर खाने हो कि काम गर्ने ? प्रस्ट पार्नुपर्ने भन्दै प्रश्न गरिएको बताए ।

उनले सांसद छनोटमा विकृति आएको र एउटै व्यक्ति पटक–पटक छानिएको भन्दै पार्टीको केन्द्रीय समिति समेत ठुलो भएकोमा आलोचना भइरहेको बताए । पार्टी केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण अनिवार्य पार्टीमा बुझाउनुपर्ने व्यवस्थाको समेत माग आएको उनले बताए ।