हिउँ परेपछि यस्तो देखियो सिमभञ्ज्याङ, दामन र अघोर (हेर्नुहोस् फोटो)
मकवानपुर । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङ, दामन र अघोरमा हिउँ परेको छ । गएरातिदेखि सामान्य वर्षासँगै उक्त क्षेत्रमा हिउँ पर्न सुरु भएको हो । बुधबार बिहान उक्त स्थानका डाँडा हिउँले सेताम्मे भएका छन् । डाँडा नै हिउँले सेताम्मे हुँदा मनमोहक देखिएका छन् ।
उक्त क्षेत्रमा परेका हिमपातले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएका इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । उनका अनुसार, उक्त स्थानमा अहिले हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न प्रकारको सवारीसाधनहरु सुचारु गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकोले यातायात संचालनमा रोक लगाएको हो ।
थाहा नगरपालिकाको २ हजार ४ सय ८८ मिटर उचाईमा रहेको सिमभञ्ज्याङमा हरेक वर्ष जाडोयाममा हिउँ पर्ने गरेको छ । यस वर्ष पहिलो पटक हिउँ परेको हो । मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सुचारु गर्ने तयारी भइरहेको उनले बताए । साथै जिल्लाको हेटौंडामा पनि हल्का वर्षा भइरहेको छ ।
हेर्नुहोस् फोटो ।






