माओवादी केन्द्रद्वारा मिडिया सेन्टर स्थापना
काठमाडौँ । नेकपा माओवादी केन्द्रको काठमाण्डौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको मिडिया व्यवस्थापन गर्न प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टर स्थापना गरेको छ । महाधिवेशन बारे आवश्यक सूचना र जानकारी दिने उदेश्यले अधिवेशन स्थल प्रज्ञा भवनमा नैं मिडिया सेन्टरको स्थापना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आर्चायले जानकारी दिए । हरेक दिन साँझ नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्णबहादु महराले मिडिया सेन्टर मार्फत् महाधिवेशन बारे जानकारी दिने जनाइएको छ ।
मिडिया सेन्टरमार्फत् सञ्चारकर्मीहरुलाई सहज रुपमा सुचना उपलब्ध हुने र मिडिया व्यवस्थापनमा सहज हुने प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाले बताए । महाधिवेशनको बन्द सत्र आज विहान साढे ११ बजेबाट सुरु भएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । आजै स्थायी समिति सदस्य देव गुरुङले पनि विधान मस्यौदा प्रस्तुत गरेका छन् । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ ।
