माओवादी महाधिवेशन : १५ पदाधिकारी रहने विधान मस्यौदा प्रस्तुत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराए ।
त्यस्तै, केन्द्रीय कमिटी २९९ सदस्यीय हुने र केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ । माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन आइतबारबाट काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । महाधिवेशन अन्तरगत आज बन्दसत्र हुँदैछ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगत रुपमा छलफल हुने बताइएको छ ।
