कालीदेवी दूग्ध उत्पादक सहकारी किसान प्रोत्साहनको कार्यमा सक्रिय
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर– ४ स्थित कालीदेवी दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई व्यवसायिक बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । किसानलाई कृषि तथा पशुपालनको क्षेत्रमा व्यवसायिक बन्न उत्साह जगाउने उदेश्यका साथ सहकारीले किसान प्रोत्साहनको कार्यमा सक्रियता बढाएको हो ।
साझेदारीमा दाना उद्योग स्थापना गरी किसानहरुलाई सुपथ मूल्यमा ढूटो, चोकर, दानालगायतका पशुआहार सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । किसानलाई जै, सुपर नेपियरलगायत विभिन्न जातका घाँसको बीउ तथा पशुस्वास्थ्यलाई ध्यानमा राखेर नाम्ले, गुकाविरुद्धको औषधी तथा दूघको शुद्धता कायम गर्न किसानलाई दूध छान्ने जाली वितरण गर्नुको साथै किसान तथा शेयर सदस्यहरुलाई संगठित गर्दै दूध उत्पादनलाई व्यवसायीकरण गराइएको छ ।
पशुपालनका लागि किसानलाई सहुलियत ब्याजदरमा ५० हजार रुपैयाँसम्म ऋण उपलब्ध गराउने प्रबन्ध मिलाएको छ । बर्षको दुई पटक पशु आहार, औषधी र घाँसको विषयमा किसानसँग अन्तरक्रिया गर्ने, उनीहरुलाई कृषि अवलोकन तथा भ्रमण गराउने र किसानलाई सहकारी शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । दूग्ध प्रशोधन तथा उत्पादन विविधिकरण र बजारीकरण गर्नुको साथै किसानलाई नियमित रुपमा दूधको रकम वितरण गरिँदै आएको उनले बताए ।

प्रविधियुक्त दूध संकलन कक्ष
प्रतिलिटर ७ रुपैयाँसम्म अनुदान
सहकारीले दूग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरेको छ । दैनिक ३० लिटरभन्दा बढी दूध बेच्ने किसालाई ढुवानी भाडास्वरुप प्रतिलिटर १ रुपैयाँ दिने व्यवस्था मिलाइएको व्यवस्थापक चन्द्रकान्त पुडासैनीले बताए । त्यस्तै किसानले सहकारीमा विक्रि गरेको दूधको मूल्यमा प्रतिलिटर १ रुपैयाँका दरले कट्टा गरी सहकारीले प्रतिलिटर १ रुपैयाँ थप गरी किसानलाई चाडपर्वको अवसर पारेर वितरण गर्दै आएको छ ।
किसानलाई सहकारीले प्रतिलिटर २ रुपैयाँ थप कमिशन प्रदान गर्दै आएको छ भने मकवानपुरगढी गाउँपालिकाले प्रतिलिटर १ रुपैयाँ र बागमती प्रदेश सरकारले २ रुपैयाँ अनुदान दिँदै आएको छ । दूघ संकलनको विधिलाई सरल र प्रविधियुक्त बनाइएको छ । किसानले विक्रि गरेको दूघको गुणस्तर, परिमाण र त्यसको मूल्यबारे उनीहरुलाई तत्कालै जानकारी गराई गुणस्तरयुक्त र सफा दूघ बेच्न परामर्श गरिँदै आएको छ ।

अब्बल व्यवस्थापन: अब्बल परिणाम
सहकारीले दूघ संकलन र बजारीकरणमात्रै होइन, सहकारीमा आवद्ध किसानको सर्वोपरी हितका लागि अब्बल व्यवस्थापन गर्दै आइरहेको छ । हरेक निर्णय गर्दा सो क्रममा किसान स्वयमलाई सहभागी गराउने गरिएको छ । कार्यसमितिमा कार्य विभाजन गरिएको छ भने विभिन्न उपसमितिमार्फत् सदस्यहरुको हीतमा काम गरिएको छ । वार्षिक योजनाहरु बनाएर मात्र त्यसलाई कार्यान्वयनमा लैजाने गरिएको छ । सहकारीले संस्थागत सहकार्यलाई पनि उच्च प्राथमिकतामा राखेको पाइन्छ ।
सहकारीको नेतृत्व, पदाधिकारी र व्यवस्थापकीय जिम्मेवारी पाएका व्यक्तिको अथक प्रयासबाट यो संस्थाको अवस्था फेरिएको हो । अहिले सहकारीको आफ्नै १३ धुर जग्गा र २ कोठे भवन छ । हालसालै २ कोठे गोदाम भवन निर्माण गरिएको छ । नेपाल चिलिङ भ्याट उद्योग क्षेत्रबाट २ हजार लिटर क्षमताको चिलिङ् भ्याट ल्याई दूघ भण्डारण गरेर राख्ने व्यवस्था मिलाइएको छ भने सुविधा सम्पन्न जेनेरेटर र प्रविधियुक्त दूघ संकलन कक्ष स्थापना गरिएको छ ।
एक दशकदेखि व्यवस्थापक: संयोजनकारी भूमिका
यस सहकारीको करिब १ दशकदेखि चन्द्रकान्त पुडासैनी व्यवस्पापकको रुपमा काम गरिरहेका छन् । २०४९ सालमा मनकामना दूग्ध उत्पादक सहकारी संस्थाको शाखाको रुपमा रहँदादेखि सहकारीमा कार्यरत रहेका उनले २०६९ सालबाट व्यवस्थापकको भूमिका निर्वाह गरिरहेका छन् । स्व. बुवा लिलानाथ र आमा रोमकुमारीकोे सन्तानको रुपमा २०१९ सालमा जन्मिएका पुडासैनीले सहकारीलाई स्थापित गर्ने कार्यमा संयोजनकारी भूमिका निर्वाह गर्दै आएका छन् । करिब ३ दशकको अवधिमा पुडासैनी केही बर्ष बाहिर रहे पनि पुनः उनले संस्थामा आवद्ध भई दत्तचित्त भएर काम गरिरहेका छन् । हाम्रो ब्राउज गर्नुहोस्, अनलाइन किन्नको लागि उपलब्ध हरेक स्वाद र बजेट अनुरूप विभिन्न विकल्पहरूको साथ।
संस्थालाई अहिलको अवस्थासम्म ल्याइपुर्याउन अत्यन्त महत्वपूर्ण भूमिका निभाएका उनले पछिल्लो एक दशकदेखि हालसम्मको सबै कागजपत्रलाई चुस्तदुरुस्त राखेका छन् । सहकारीले कमाएको ख्याती संस्थागत हितका लागि भएका महत्वपूर्ण कामहरुमा पुडासैनी अग्रपक्तिमा छन् । पछिल्लो समय सहकारीले स्थानीय पत्रकार, जेष्ठ नागरिक, टाढादेखि दूध बेच्न आउने किसान, गुणस्तरीय दूघ बेच्ने किसान तथा इमान्दार ऋणीलगायतलाई सम्मान गर्दै आएको छ ।

२ कोठे गोदाम भवन
दैनिक १ हजार ३ सय लिटर दूघ संकलन
२०५१ सालमा डिभिजन सहकारी कार्यालयमा आधिकारीक रुपमा दर्ता भएपछि संस्थाको नेतृत्व मीनप्रसाद लामिछानेले सम्हालेका थिए । त्यसबेला संस्थाको आफ्नै भवन थिएन । अहिलेजस्तो सुविधासम्पन्न दूध संकलन तथा भण्डारण कक्ष पनि थिएन । दैनिक १ सय देखि २ सय लिटरसम्म दूध संकलन हुन्थ्यो । केही बर्षसम्म स्थानीय किसानको घरमा बसेर दूध संकलनको कार्य गरियो । २०६१ सालमा संस्थाको २ कोठे भवन निर्माण गरिएको हो ।
२०५४ बाट २०५७ सम्म ढलप्रसाद चौँलागाईले संस्थाको नेतृत्व गरे । त्यस्तै २०५७ देखि २०७१ सम्म विष्णुप्रसाद लामिछाने पटक–पटक नेतृत्वमा रहे । २०७१ बाट दिवस दुलाल २०७२ बाट कृष्णप्रसाद खतिवडा र २०७४ बाट अर्जुनप्रसाद सापकोटा संस्थाको नेतृत्वमा छन् । सापकोटाको कार्यकालमा संस्थागत विकासका लागि उल्लेख्य काम भएका छन् । उनकै अगुवाइमा सहकारीको गोदाम भवन निर्माण तथा सुविधा सम्पन्न जेनेरेटर, चिलिङ भ्याट र प्रविधियुक्त दूध संकलन कक्षको प्रबन्ध मिलाइएको हो ।
स्व. डिल्ली प्रसाद सापकोटा र गंगादेवी सापकोटाको सन्तानको रुपमा २०२४ सालमा जन्मिएका उनको सामाजिक क्षेत्रमा उल्लेख्य योगदान रहेको छ । सहकारीको संस्थागत विकासको सन्दर्भमा आफ्ना अधिकाँश प्रतिवद्धताहरु पूरा भएको सापकोटा बताउँछन् । संस्थाको पुरानो भवन पुर्ननिर्माण गर्ने योजना पुरा गर्न प्रयत्न गरिरहेको उनको भनाई छ । उनकै अगुवाइमा भएको किसान प्रोत्साहन कार्यक्रमले किसानलाई व्यवसायिक बनाउनुको साथै संस्थामा हाल दैनिक करिब १ हजार ३ सय लिटर दूघ संकलन हुने गरेको र संस्थाको मासिक कारोबार २० लाखभन्दा बढी हुने गरेको छ ।



