दुर्घटनामा परेर दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति १० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार लालबन्दी नगरपालिका ३ बस्ने भीम गुरुङ्को मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पठाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै, सोही दुर्घटनामा परेर अर्का जना भने घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ बस्ने ४२ वर्षीय जितन चौधरी घाइते भएका छन् । उनको लालबन्दीमा उपचार भइरहेको छ ।
यस्तै, हरिपुर नगरपालिका ६ लक्ष्मीपुरस्थित मलंगवा सडकखण्डमा साइकलले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अहमदजा मियाँकी ५५ वर्षीया पत्नी सैफुल खातुन छन् । बाटो क्रस गर्ने क्रममा साइकलको ठक्करबाट घाइते भएकी उनको प्रादेशिक अस्पाताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनका अनुसार, ठक्कर दिने साइकल चालकलाई नियन्त्रणमा लिइ घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
