स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष ८, बिहीबार १५:०३

काठमाडौं । कास्कीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका नौंडाँडामा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । गएराती नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा परेर अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार, गएराति भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारको लागि उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको हो ।

मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।