हेटौंडामा सवारी दुर्घटना
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नमवर ९ हनुमानगेट नजिकै आज (बुधबार) दिउँसो सवारी दुर्घटना हुँदा दुई घाइते भएका छन् । दिउँसो हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ३ ख ९२०० नम्वरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३ ००३ प ३२४० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१२ सिग्रेनी बस्ने ३१ वर्षीय विनोद स्याङ्तान र मो. सवार हेटौंडा–१२, पदमपोखरी बस्ने २१ वर्षीय विजन वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, घाइतेमध्ये विनोदको अवस्था गम्भीर रहेको छ । घाइते दुबैजनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दासले बताए ।
