मकवानपुरमा सोमबारसम्म ९ हजार बढी विद्यार्थीले लगाए कोरोनाविरुद्ध खोप
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको मोडर्ना खोप लगाउने अभियान अन्तरगत सोमबारसम्म ९ हजार भन्दा बढी विद्यार्थील खोप लगाएका छन् । पुस ४ गते बाट सुरु भएको उक्त अभियानको दुई दिनमा १२ वर्षदेखि १७ वर्ष उमेरसमूहका ९ हजार १ सय विद्यार्थीले खोप लगाएको तथ्याङ्क प्राप्त भएको जिल्ला स्वास्थय कार्यलय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमालले जानकारी दिए ।
उनका अनुसार, अभियानअन्तरगत पहिलो दिन हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका भित्रका १२ देखि १७ वर्ष सम्मका ३ हजार १ सय विद्यार्थीले खोप लगाएका थिए । यस्तै, दोस्रो दिन हेटौंडा उपमहानगरपालिका, कैलाश र बागमती गाउँपालिकाका ६ हजार बालबालिकाले खोप लगाएका छन् । उनले भनेः विद्यार्थीलाई खोप लगाउने तीन दिने कार्यक्रम अन्तर्गत १० वटै स्थानीय तहमा अभियान चलिरहेको छ ।
आईतबार केहि स्थानीय तहको विद्यालयमा सार्वजनिक विदाको कारण विद्यालयमा खोप लगाउने कार्यक्रम हुन नसकेको उनको भनाई छ ।आज सबै स्थानय तहको विद्यालयमा खोप लगाउने कार्यक्रम छ । अनलाईन दर्ता गेरेर खोप लगाउनु पर्ने हुँदा इन्टरनेटको समस्या कारण तथ्याङ्क आउन ढिलाई भएको र आज बेलुकासम्म कुन स्थानीय तहमा कति विद्यार्थीले खोप लगाए भन्ने जानकारी प्राप्त हुने जनस्वास्थ्य निरीक्षक रिमालले बताए । उनका अनुसार, विद्यालयमै पुगेर खोप लगाउने तीनदिने अभियानको आज अन्तिम दिन हो । आज पनि छुट भएका बालबालिकाहरुलाई सम्बन्धित स्थानीय तहले पुस १३ गतेसम्म खोप लगाउने व्यवस्थापन मिलाईएको छ ।
