प्रदेश १ र बागमतीमा चुनावी प्रकृयाबाट नेतृत्व चयन गर्न निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश नेतृत्व सहमतिमा हुन नसकेपछि पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । माओवादी स्रोतका अनुसार नेतृत्व चयन हुन नसकेका प्रदेश नम्बर १ र बागमतीमा चुनावी प्रक्रियाबाटै नेतृत्व चयन गर्न प्रचण्डले निर्देशन दिएका हुन् ।
माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको छैन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो ।
यस्तै, बागमती प्रदेशमा पनि २७१ सदस्यीय कार्यसमिति चयन गरिएको भनिए पनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन । सदस्यमा पनि सबैलाई समेट्न नसकिएको भन्दै असन्तुष्टिका स्वरहरु सुनिएका छन् । मंसिर २५ मा माओवादी केन्द्र बागमती प्रदेशको अधिवेशन काठमाडौंमा भएको थियो ।
यी प्रदेशबाहेक प्रदेश २ मा पनि नेतृत्व चयन गर्न सकस परेको थियो । तर, अहिले प्रदेश कमिटीको टुंगो लगाएर पछि नेतृत्व घोषणा गर्नेगरी लालबन्दीको बन्दसत्रबाट आइतबार टुंगो लागेको नेताहरुले बताएका छन् । अन्य प्रदेशमा पनि नेतृत्वको विषयमा निकै रस्साकस्सी परेको भए पनि अन्तिम समयमा आएर सहमति जुटाइएको थियो ।
