मैत्रीपूर्ण फुटबलमा महिला अधिकारकर्मी विजयी
मकवानपुर । हेटौंडामा शनिबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा महिला अधिकारकर्मीको समूह विजयी भएको छ । मकवानपुरका पत्रकार महिला र महिला अधिकारकर्मीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी १–० गोल अन्तरले विजयी भएको हो । अधिकारकर्मीको तर्फबाट मनिता दानिले निर्णायक गोल गरिन् । दानीले खेलको दोश्रो हाफमा गोल गरेकी हुन् ।
प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडामा निर्माणाधिन मिनि रंगशालामा खेल भएको हो । महिला हिंसाविरुद्ध सचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारीले जानकारी दिइन् । महिला हिंसाको स्वरुपमा परिवर्तन भइरहेको र यसबारे खेलकुदको माध्यमबाट सचेतना फैलाउने उद्देश्यले खेलकुद गरिएको गैरसरकारी संस्था महासंघ जिल्ला उपाध्यक्ष रमिला सापकोटाले बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, महिला फिफा रेफ्रि कल्पना शर्मा, माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामालगायतको उपस्थिति रहेको थियो ।
