मकवानपुरको बागमतीमा सामुदायिक आँखा केन्द्र
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बागमती गाउँपालिकाको झुरझुरेमा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएको छ । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा शुक्रबार सामुदायिक आँखा केन्द्र उद्घाटन गरेका हुन् ।
केन्द्रमा शुक्रबारदेखि नै आँखा जाँच कार्यक्रम शुरु भएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरुलाई हेटौंडासम्म जानुपर्ने बाध्यता हटाउन घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र संचालनमा ल्याइएको बताए । उनले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने बताए । नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना हनपूर्वदेखि नै बागमती गाउँपालिकामा आँखा सेवा पुर्याउँदै आएको स्मरण गर्दै अहिले व्यवस्थित रुपमा सामुदायिक आँखा केन्द्र नै स्थापना गर्न पाएकोमा खुशी व्यक्त गरे ।
केन्द्रमा आँखा जाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमति आँखा शिविरको कार्यक्रम पनि सञ्चालन गर्न सकिने हेटौंडा सामुदायिक आँखा अस्पतालले जानाएको छ । बागमती गाउँपालिकाले आँखा केन्द्र स्थापनाका लागि भवनको व्यवस्थापन गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानले १७ लाख रुपैयाँ दराबरको उपकरण उपलब्ध गराएको छ । यस्तै, बागमती गाउँपालिकाले आँखा केन्द्रमा रहने एक जना नेत्र सहायक र एकजना सहयोगी कर्मचारीको मासिक तलब वापत करिब ६० हजार रुपैयाँ खर्च व्यहोर्नेछ। उद्घाटनको दिन ५० जनाले सेवा लिएको आँखा केन्द्रमा दैनिक औसत २० जनाले सेवा लिने अनुमान गरिएको छ।
