नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा केसी
काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा बिमला केसी चयन भएकी छिन् । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन ।
बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको प्रदेश समिति सदस्य धुब्रबिक्रम बुढाथोकीले जानकारी दिए । उनका अनुसार अन्य पदाधिकारी भने अझै टुंगो लागेको छैन, अर्को बैठकले टुंगो लगाउनेछ । अध्यक्षमा चयन भएकी केसी कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।
