हेटौंडामा युवा संघको सन्देशसभा हुँदै

तु खबर संवाददाता
२०७८ मंसिर २४, शुक्रबार ०८:५३

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका कमिटीले हेटौंडामा आज सन्देश सभा गर्दैछ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सन्देश दिने उद्देश्यले सभाको आयोजना गर्न लागिएको युवा संघका हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष राजेश नगरकोटीले बताए ।

एमालेको महाधिवेशनले पारित गरेको घोषणापत्रको विषयमा आम युवा तथा नागरिकलाई जानकारी दिने उद्देश्यले सभाको आयोजना गर्न लागिएको उनको भनाई रहेको छ । शुक्रबार रोयल  पार्टी प्यालेसमा हुने सभाको तयारी तब्रि भएको भन्दै नगरकोटीले महाधिवेशनको सन्देशलाई सबै युवा तथा नागरिकमाझ पुर्याउनको लागि सभाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सभालाई राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका नव निर्वाचित केन्द्रीय सदस्य किरण पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा एमालेका केन्द्रीय नेताहरु, बागमती प्रदेश समिति, जिल्ला कमिटिका नेताहरुको सहभागिता हुने बताईएको छ ।