युवा संघका जिल्ला सदस्य श्रेष्ठको हत्या
भक्तपुर । भक्तपुरमा युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्या भएको छ । मंगलबार राति पौने १० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा हनुमन्ते खोलाको पुलमुनि गम्भीर घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषणा गरेको हो । श्रेष्ठको हत्यामा संलग्नको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका उनीमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीको कमाण्डमा टोली गठन समेत गरेको भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जीसीले जानकारी दिए ।
