प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा
काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा बिष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । मंसिर १८ र १९ गते चितवनमा सम्पन्न भएको चौथो महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ ।
अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने अब बस्ने केन्द्रीय कमिटीले निर्वाचित गर्ने जनाइएको छ । प्रेस सेन्टरको विधानअनुसार अध्यक्षसहित ३९ जनाको पदाधिकारी रहने ब्यबस्था छ । देशैभरबाट ७०० जना प्रतिनिधिको उपस्थिति रहेको सम्मेलनको उद्घाटन गत मंसिर १८ गते पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए ।
