मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु
लमजुङ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गएराति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना ३५ प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । मोटरसाइकल चालक बेँसीसहर नपा–१ उदीपुरका २१ वर्षीय सुजन खवासलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।
गाडीको ठक्करबाट बृद्धको मृत्यु
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहोराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् ।
“ठक्कर दिने गाडीको पहिचान भइसकेको छ”, प्रहरी निरीक्षक बोहराले भने, “चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।” स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।
