दुर्घटनामा सापकोटाको मृत्यु
काठमाडौं । काठमाडौंको थापाथलीमा आज (आइबार) बिहानै मिनी टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजेको समयमा थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
टिपरको ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका सापकोटाको थापाथलीमै रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सोही दुर्घटनामा परेर स्कुटरमा सवारी सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईं घाइते भएका छन् । उनको नर्भिक अस्पतालममै उपचार भइरहेको छ । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।
