बागमती प्रदेश सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

तु खबर संवाददाता
२०७८ मंसिर १६, बिहीबार १५:०६

मकवानपुर । बागमती प्रदेश सरकार संचालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बिहिबार सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यदलले प्रदेश सरकारलाई कोभिड– १९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढिकरण, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक हस्तान्तरण पर्यावरणीय सुरक्षामा प्रादेशीक भूमिकालगायत विषयमा प्राथमकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई बुझाएकोमा धन्यवाद व्यक्त गरे । उनले प्रदेश सरकारसंगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको भन्दै प्रदेश सरकारले त्यसको कार्यान्वयनको कामलाई तीब्रताका साथ अघि बढाउने बताए ।

न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक युवराज दुलाल, कांग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घले, नेकपा एकीकृत समाजवादीको तर्फबाट माधव पौडेल र मिना ज्ञवाली, नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गरेका छन् ।