गणतन्त्र र संघीयता माओवादीको एजेण्डा : मन्त्री जम्मकट्टेल

तु खबर संवाददाता
२०७८ मंसिर १४, मंगलवार ०८:१०

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले गणतन्त्र र संघीयता माओवादीको एजेण्डा भएकाले त्यसको रक्षा र विकासका लागि एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । सोमबार नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका सम्मेलनको उदघाटन गर्दै मन्त्री जम्मकट्टेलले अहिलेको व्यवस्थाबाट गरिब, उत्पीडित बर्गको हित नहुने भएकाले समाजवाद कार्यान्वयन गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले एमाले र केपी शर्मा ओली संवैधानिक राजतन्त्रको पक्षमा रहेकाले गणतन्त्र र संघीयता जोगाउन आमनागरिक एकजुट हुनुपर्ने भन्दै पार्टीका नेता, कार्यकर्तालाई गाउँगाउँसम्म सशक्त रूपमा लाग्न निर्देशन दिए । माओवादी हेटौंडाका इन्चार्ज विवेक राईको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा मकवानपुर संयोजक प्रेमबहादुर पुलामी (छिन्तु), बागमती प्रदेश कमिटी सदस्यहरू ओम घलान, सर्केश घलान, ललित घलान, पार्टीका मकवानपुर जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक), उपमहानगर सम्मेलन आयोजक कमिटी सदस्य तारा मोक्तान लगायतले सम्मेलनको भव्य सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सल्लाहकार सदस्य कौशल पाण्डे, जिल्ला पार्टी सचिवालय सदस्य प्रमिला पुलामी लामा, सागर बानियाँ, रामजी नेपाल, वाइसीएल मकवानपुर इन्चार्ज सुमन पाख्रिन लगायतको आतिथ्य रहेको थियो । नगर सम्मेलनले पदाधिकारी सहित ८१ सदस्यीय नयाँ कमिटी चयन गर्नेछ ।