एमाले उपाध्यक्ष भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता
चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेको सौराहामा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेलेरै अघि बढ्न खोजेको भएपनि अन्नत निर्वाचन हुने नै भएको छ । बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरेका थिए ।
