सातादेखि हराइरहेकी महिला मृत फेला

रासस
२०७८ मंसिर ७, मंगलवार १०:०८
सांकेतिक तस्वीर

गोरखा । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डोटीमा आपसी झगडामा एकको मृत्यु
डोटी । बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए । कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।