मकवानपुरे तामाङ साँस्कृतिक अभियन्ता मोक्तानको श्रद्धाञ्जली सभा
मकवानपुर । तामाङ घेदुङ मकवानपुर लगायत विभिन्न तामाङ भातृ संगठनले आफ्ना दिवंगत साँस्कृतिक अभियान्ता कृष्ण मोक्तानको ४९ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरेको छ । मकवानपुरे तामाङ समाजमा साँस्कृतिक जागरण अभियानका अभियन्ता तथा डम्फुरेको रुपमा परिचित मोक्तानको सोमबार साङ्गतोक पालारी गुम्बा बसपार्कमा पुजापाठसहित श्रद्धाञ्जली सभा भएको हो ।
कार्यक्रम तामाङ घेदुङ मकवानपुरका सचिव आत्माराम मोक्तानको सभाध्यक्षता तथा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलानको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि घलानले मकवानपुरे साँस्कृतिक अभियानमा लागिपरेका मोक्तानको अकल्पनीय निधनले सिङ्गो तामाङ समुदायमा तथा सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए । उनले भने, ‘आफ्नो समुदायको लागि पर्ने उहाँ अति बिकट गाउँबस्तीहरुमा सास्कृतिक जागरण अभियानमा अग्रनी भुमिका हुनुहुन्थ्यो । र डम्फुमा मौलिक तामाङ सेलो गीत समेत गाउने उहाँको निधनले सिंगो मकवानपुरे तामाङ समुदाय स्तब्ध भएको छ ।’
काभ्रे जिल्लामा जन्म भै २०३५ सालदेखि मकवानपुरमा स्थायी बसोबास गर्दै आएका मोक्तान तामाङ साँस्कृतिक घेदुङ मकवानपुरको पुर्वअध्यक्ष तथा ह्याङ्गला तामाङ समाजको सल्लाहकार थिए । उनको गत असोज १९ गते उपचारको क्रममा पाटन हस्पिटलमा निधन भएको थियो । कार्यक्रममा घेदुङ मकवानपुरका पुर्वअध्यक्ष मेम्बर लो, हेटौंडा उपमहानगरपालिका घेदुङका अध्यक्ष भिमलाल सिन्तान, ह्याङ्गला तामाङ समाजका महासचिव सुभास सिन्तान, मकवानपुर तामाङ्ग कलाकार संघका अध्यक्ष धिरेन लामासहित तामाङ्ग घेदुङको प्रतिनिधि, गुठीका सदस्य प्रतिनिधिहरु लगायत आफन्तजनहरुलाई सहभागी रहेको थियो ।
