बाल दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग
मकवानपुर । अन्र्तराष्ट्रिय बाल दिवसको अवसरमा हेटौंडा उपहानगरपालिकास्थित रहेको बालसुधार गृहलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना एवम् मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्वको संजाल मकवानपुरको समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय बालगृहका ५४ जना बालकहरुलाई शैक्षिक सामाग्री हस्तारणगरिएको हो ।
उनीहरुलाई कापी, व्याटमिन्टन, भलिबल लगायतका स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ । उक्त कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुङ्गेलको सभाध्यक्षता तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा प्रमुख अतिथि मोक्तानले बालबालिका किन र कसरी सुधार गृहमा आइरहेका छन् भन्ने कुरा यकिन गर्नुपर्ने बताइन् । बालबालिकाको भविष्य निर्माणमा अभिभावक पहिलो भएको बताउँदै मन्त्री मोक्तानले अभिभावकसँगै राज्यको पनि उत्तिकै जिम्मेवार हुँदा सकेसम्म सुधार गृहसम्म बालबालिका आइपुग्न नदिन अभिभावक जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।

शिक्षाले समाज सुधारमा सहयोग पुग्ने भएकाले बालबालिकाको शैक्षिक विकास महत्त्वपूर्ण रहेको बताइन् । कार्यक्रममा सिविन नेपालका संयोजक झविन्द्र ज्ञवाली, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, सामाजिक विकास मन्त्रालयका उपसचिव रुद्रहरी भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
