दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द

रासस
२०७८ मंसिर २, बिहीबार ०८:५३
file photo

भक्तपुर । भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरु दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमति भएको छ ।

निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा उक्त सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो । निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०÷०७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक–पटक म्याद थप गर्र्दै आएको र अहिले पुनः म्याद थप गरेको छ । पटक–पटक म्याद थप गरेर पनि आठ वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको भन्र्दै स्थानीय बासिन्दा र होटल व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन समिति नै बनाएका छन् ।

मन्त्री भँडेलले सडकको अवस्था र स्थानीयवासीको आक्रोशका बारेमा मन्त्री यादवलाई जानकारी गराउँदै छिटो सडक निर्माण सम्पन्न गराउन पहल गरिदिन आग्रह गरेको समन्वयकर्ता एवं महासङ्घका पूर्वमहासचिव देउजाले जानकारी दिए । छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक गुणस्तर बन्न नसकेको र कालोपत्र पनि एक कोड मात्र भएकाले दोहोरो कोड गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराएका थिए ।

आगामी दुई महिनाभित्र कम्पनीले सडक निर्माण सम्पन्न गरेमा सडकको प्रत्येक मोडमोडमा गुणस्तरीय कालोपत्र गरेर टिकाउ बनाउन मन्त्रालयले बजेट विनियोजन गर्नेबारेमा समेत छलफल भएको छ । मन्त्री यादव त्यसमा सकारात्मक भएको देउजाले जानकारी दिए । छलफलमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकको अवस्थाका बारेमा जानकारी गराए ।